लड्डुगणेशलाई लब लेटर

प्रीय लड्डु गणेश,

तिम्रो चौथो जन्मदिनमा तिम्री प्यारी फूपू यो चिठी लेख्दैछु। आज जेष्ठ २७, परिवारमा हासो, खुसी, आशा र आनन्द ल्याउने एउटा नया सानो सदस्यको आगमन भएको दिन, तिम्रो जन्मदिन। लड्डु, हामिलाई थाहा छ तिमी ड्रामेबाज हौ भन्ने, जन्मनु अघिनै नाटकको डेमो देखाएका थियौ। डिउ डेटमा तिमी आउन मानेनौ, भाउ खोज्यौ, हामिले दियौ, बल्ल तिमी आयौ, ढिलो आयौ तर हसिलो, स्वस्थ अनि फुर्तिलो आयौ। लड्डु, तिमी जन्मनु अघिनै तिम्रो जिवनमा मैले खेल्ने भुमिका बारे म सोच्ने गर्थे र प्रष्ट थिए। तिमी यो सन्सारमा जन्मनु भन्दा पहिलेनै मैले तिमिलाई माया गरेको थिए, तिमी यो सुन्दर सन्सारमा आउदैछौ भन्ने सुचनानै काफी थियो म खुसी हुन। अहिले त्यो प्रेम मैले व्याख्या गर्न सक्ने भन्दा बढी छ। पहिले, अहिले र अब जहिले पनि म तिमिलाई माया गर्नेछु। तिमिलाई पहिलो पटक देखेदेखी आजसम्म मेरो मोबाईलमा कैद भएका तिम्रा १,२०६ भिडियो सामाग्री र ४,७०१ वटा फोटो सामाग्री आफैमा काफी छ तिमी हाम्रो घरको सेलिब्रेटी र म तिम्रो पागल पापाराजी हो भन्ने पुष्टि गर्न।

लड्डु, तिमी आफैमा भाग्यशाली छौ, तिमिले रमाइली फूपू पाएको छौ। र म पनि खुसिसाथ परिपक्क फूपू, रमाईलो साथी, खेल्नेखुद्ने सङ्गी बन्न तयार छु। मेरो जिवनका अनुभव तिम्रो जिवनयात्रा सुरु गर्दा सल्लाह दिने प्रयास गर्नेछु, कहिलेकाही काव्यात्मक बन्न सक्छु, सुनकेशरिका कथा हुँदै जिवनको गाथा सुनाउनेछु, चुट्किला सुनाएर हसाउन सक्छु। म तिमिलाई कति माया गर्छु र तिम्रो लागि मैले गर्ने के कस्ता काम, कर्तव्य हुनेछन् भन्नेमा प्रतिबद्ध छु। म तिम्री प्यारी जवाफदेही फूपू बन्ने वाचा गर्छु र म उमेरले वयस्क भएपनी तिमिसङ्ग खेल्ने, कुद्ने, चलचित्र हेर्ने, पार्कतिर जाने र खेल्ने आफ्नो बालापनको खुसी तिमी मार्फत फेरि हेर्न रम्न चाहन्छु । म तिम्रो सबैभन्दा असल नजिकको साथी बन्ने वाचा गर्छु। तिमिले तिम्रा दैनिकी, मनका कुरा बेझिझक म सङ्ग भन्न सक्ने, तिम्रो पहिलो क्रस, पहिलो गल्ती, पहिलो चुम्बन, पहिलो हरेक अनुभव, त्यसपछिका बिचार सुन्न म सदैव तयार रहनेछु। तिमिले मलाई विश्वास गरेर हरेक गोप्य कुरा खुलेर सहज तरिकाले भन्न सक्ने वातावरण बनाई तिम्रा बिचारलाई सम्मान गर्नेछु, उचित सल्लाह सुझाव दिनेछु।

बाबु, तिमी हरेक दिन हास्नु, सकेसम्म धेरै हास्नु, अरुलाई पनि समयानुकुल गफगाफ गरेर हसाउनु रमाइलो गर्नु । तिमिलाई खुशी बनाउने हरेक साना, ठुला कुराको कदर गर्नु, सकेसम्म धन्यवाद भन्नु र सधै आफुसङ भएका ब्यक्ति, विचार र सबैथोक प्रती कृतज्ञता ब्यक्त गर्नु । तिमी हुर्कदै ठुलो हुदै गर्दा खेलकुद गर्नु, बिभिन्न बिधामा प्रतिस्पर्धा गर्नु तर हार जीतको लागी भन्दा पनि आफ्नो सिप, ज्ञान, क्षमता अभिबृद्धी गर्नका लागी गर्नु । तिमी उपलब्धी किताबी ज्ञान मात्र हुन्, परिक्षामा ल्याएका धेरै अङ्क मात्र हुन्, प्राप्त गर्ने पुरस्कार नै प्रगती हो भन्ने प्रलोभन र भ्रममा नपर्नु । लडे उठ्नु, उठेसी हिड्नु, हिड्दै गर्दा दौडनु परेमा दौडनु तर लडेमा मुस्कुराउदै उठ्नु तर हार नखानु यो प्रकृया दोहोर्याउनु । हरेक समयलाई रोमान्चक मानेर यात्रा गर्नु, कदम चाल्नु, नतिजामा मात्र होइन प्रकृयामा रमाउनु, बारबार प्रयास गर्नु र कठिनलाई सहजमा बदल्नु । ज्ञानी हुनु, धैर्य गर्नु, ध्यान गर्नु, सबैलाई र सबैको विचारको सम्मान गर्नु, सबैको सुन्नु निर्णय आफ्नो विचार गरेर गर्नु । बाबु तिमी सधै स्वस्थ र सक्रीय रहनु, तिमिलाई अङ्गालो भरिको साथ, मुटुभरिको माया छ ।

तिम्री फुपू
(तिम्रो शब्दमा नानि, दिदी)

Leave a comment